गृहपृष्ठ मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ
मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ
असाेज १९ , २०८३
बुटवल टाइम्स
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनको कामलाई तीव्रता दिइएको बताए।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता थियो।
प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा सरकारले कुनै सम्झौता नगरी काम गरिरहेको बताउँदै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर उद्धार तथा व्यवस्थापनका काम चाँडो सम्पन्न गर्ने प्रतिबद्धता जनाए।
‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ,’ उनले भने, ‘त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’
भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी व्यवस्थापनका काम अघि बढाइएको प्रधानमन्त्री शाहले बताए।
उनले विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको जानकारी दिए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाइएको उनको भनाइ छ।

















