गृहपृष्ठ सरुवा–बढुवामा भनसुन अन्त्य गर्न स्वायत्त बोर्ड गठन गरियोस् : महासचिव आचार्य

सरुवा–बढुवामा भनसुन अन्त्य गर्न स्वायत्त बोर्ड गठन गरियोस् : महासचिव आचार्य

Oplus_16908288

असाेज ८, २०८३
बुटवल टाइम्स

काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका महासचिव तथा सांसद विपिन कुमार आचार्यले सरुवा–बढुवामा हुने भनसुन र नातावाद अन्त्य गर्न स्वायत्त सरुवा बोर्ड गठन गरी विधिमा आधारित प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।

सभामुखलाई सम्बोधन गर्दै उनले राजनीतिमा आएपछि आफूले भोग्ने ठूलो दबाबमध्ये सरुवा–बढुवा पनि रहेको बताए। सुशासन र पारदर्शिताको कुरा गर्ने साथीभाइ तथा इष्टमित्रहरू नै सरुवा–बढुवाका लागि आग्रह लिएर आउने गरेको उनको भनाइ छ।
उनले आफूले सबैलाई सरुवा–बढुवा विधि र प्रक्रियाअनुसार भइरहेको तथा अब भनसुन नचल्ने बताउँदै आएको उल्लेख गरे। साथै, सरकारको वाचापत्रको आठौँ बुँदामा उल्लेख भएअनुसार स्वायत्त सरुवा बोर्डमार्फत पूर्वानुमानयोग्य र विधिमा आधारित सरुवा प्रणाली चाँडै लागू गरिने जानकारीसमेत आफूले दिने गरेको बताए।
उनले सरकारलाई स्वायत्त सरुवा बोर्ड चाँडै गठन गर्न आग्रह गर्दै आफूलाई इष्टमित्रको दबाब र असन्तुष्टिबाट जोगाइदिन आग्रह गरे। दशैंमा टीका र आशीर्वादको सट्टा ‘हाम्रो कामै गरिदिएन’ भन्ने गुनासो र सराप पाउनुपर्ने अवस्था आउन सक्ने भन्दै उनले व्यंग्यात्मक शैलीमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु