गृहपृष्ठ स्थानीय तहमा महिला नेतृत्व बढाउन सरकार र दल गम्भीर बन्नुपर्छ : ज्ञानु पौड्याल

स्थानीय तहमा महिला नेतृत्व बढाउन सरकार र दल गम्भीर बन्नुपर्छ : ज्ञानु पौड्याल


असाेज ८, २०८३

बुटवल टाइम्स

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्ञानु पौड्यालले स्थानीय तहमा महिलाको नेतृत्व बढाउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौड्यालले स्थानीय तहको नेतृत्वमा महिलाको संख्या न्यून रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा महिलाको निर्णायक तहमा सहभागिता बढाउन जिम्मेवार निकायले विशेष ध्यान दिनुपर्ने बताइन्।
‘अब आउने स्थानीय तहको निर्वाचनमा महिलाको नेतृत्व सुनिश्चित गर्न सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।
पौड्यालले २०७९ सालको स्थानीय तह निर्वाचनमा देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुख तथा अध्यक्ष पदमा जम्मा २५ जना महिला निर्वाचित भएको तथ्य संसदमा प्रस्तुत गरिन्। उनका अनुसार १३ जना महिला नगरप्रमुख र १२ जना गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।
त्यस्तै, ६ हजार ७ सय ४३ वडाध्यक्षमध्ये ६९ जना मात्रै महिला निर्वाचित भएको उनले बताइन्। यो कुल वडाध्यक्षको करिब १ प्रतिशत रहेको उनको भनाइ थियो। उपप्रमुख तथा उपाध्यक्ष पदमा भने ५ सय ६८ जना महिला निर्वाचित भएको उनले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु