गृहपृष्ठ भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ।
भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ।
असाेज ४,२०८३
बुटवल टाइम्स
काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन गरिएको छ। प्रहरीले हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको जनाएको छ।
शव पहिचानका लागि मृतकका आफन्त तथा सम्बन्धित व्यक्तिबाट गरी कुल तीन हजार २८३ वटा डीएनए नमूना संकलन गरिएको छ। तीमध्ये मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ नमूना छन्।
पहिचान हुन बाँकी एक हजार ३६२ शवको विवरण प्रहरीले आफ्नो वेबसाइटमा अपलोड गरेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका काममा हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ। बाढीपछि बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
रासस
















