गृहपृष्ठ १५ वर्षदेखि रुग्ण कमला पुलको प्रतीक्षा सकिँदै, मधेशको ‘दुःख’ अन्त्य गर्दै दुई महिनाभित्र सञ्चालनको लक्ष्य
१५ वर्षदेखि रुग्ण कमला पुलको प्रतीक्षा सकिँदै, मधेशको ‘दुःख’ अन्त्य गर्दै दुई महिनाभित्र सञ्चालनको लक्ष्य
असोज २, २०८३
बुटवल टाइम्स
काठमाडौं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको धनुषा–सिराहा जोड्ने कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
मधेशको ‘मेरुदण्ड’ मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुलको बाँकी कामले गति लिएसँगै अबको दुई महिनाभित्र पुल औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पूर्वाधारमन्त्री सुनिल लामिछानेले जारी गरेको प्रेस नोटअनुसार आयोजनाको मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण गरेपछि लामो समयदेखि रोकिएको निर्माण कार्यले गति लिएको हो। ठेकेदार कम्पनी र बीमा कम्पनीबीचको कानुनी विवादका कारण पुल निर्माण लामो समयदेखि अलपत्र अवस्थामा थियो।
नदीमा भाँचिएको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ। सबस्ट्रक्चरको ढलान कार्यसमेत सकिएको छ। पुलको फाउन्डेसनसहित तीनवटा पिलरको सबलीकरण पनि पूरा भएको छ।
अब सुपर स्ट्रक्चरको स्ल्याबमाथि ढलान गर्ने काम मात्रै बाँकी रहेको मन्त्रालयले जनाएको छ। आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ।
धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि माटो भरिएको भए पनि वर्षाको पानीले बगाउँदा क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिनेछ। सिराहातर्फको पहुँच सडकमा माटो भर्ने काम भने सम्पन्न भइसकेको छ।
यसैगरी, पुलको लोड परीक्षणसमेत सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।
कमला पुल निर्माणको ठेक्का २०६८ सालमा पप्पु लुम्बिनी जेभीले लिएको थियो। २०७८ साल असारमा पुल उद्घाटनको तयारी भइरहेका बेला पिलर भाँचिएपछि आयोजना रुग्ण अवस्थामा पुगेको थियो।
मन्त्रालयले पुल निर्माणसँगै कमला नदी नियन्त्रणको कामसमेत अघि बढाएको छ। नदी नियन्त्रणका लागि सरकारले २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ।
नदी नियन्त्रणको डिजाइन स्वीकृत गरी टेन्डर आह्वान गरिसकिएको छ। उक्त टेन्डरमा जेभीसहित १९ वटा कम्पनी सहभागी भएका छन्। आगामी साता प्राविधिक मूल्याङ्कन सम्पन्न गरी आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गर्ने तयारी मन्त्रालयको छ।
















