गृहपृष्ठ बझाङमा कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
बझाङमा कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
असोज २, २०८३
बुटवल टाइम्स
काठमाडौं । बझाङमा सेती नदीमा फालिएको कुकुर घटना भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि फेला परेको छैन । कुकुरलाई नदीमा फाल्ने महिलालाई भने प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एक महिलाले आफूले पालेको कुकुरलाई सेती नदीमा फालेकी थिइन् । कुकुरलाई नदीमा फाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा जयपृथ्वी नगरपालिका–१० की ४२ वर्षीया विमलादेवी रोकायालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईका अनुसार पक्राउ परेकी रोकायाले प्रहरीसमक्ष कुकुर करिब दुई सातादेखि बिरामी रहेको र मानिसहरूलाई समेत टोक्न थालेपछि नदीमा फालेको बयान दिएकी छन् ।
उनका अनुसार बिरामी भएपछि कुकुरको शरीरको पछिल्लो भागबाट दुर्गन्धसमेत आउन थालेको रोकायाले बताएकी छन् ।
नदीमा फालिएपछि पनि कुकुर पौडिएर बाहिर निस्कन सक्ने सम्भावना रहे पनि उक्त कुकुर भने अहिलेसम्म सम्पर्कमा आएको छैन । घटनापछि कुकुरको खोजी गरिए पनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
















