गृहपृष्ठ नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा


 

असोज २, २०८३

बुटवल टाइम्स

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा ‘ट २४, ०००००१’ देखि ‘ण ७०, ९९९९९९’ सम्मका संकेत नम्बर रहनेछन्। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख हुनेछ।

नोटको अगाडिको मध्य भागमा नेपाल राष्ट्र बैंकको प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल ‘५०’ अंकसमेत रहनेछ।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। त्यस्तै, नोटमा १.२ मिलिमिटर चौडाइको सुरक्षा धागो राखिएको छ। उक्त धागोलाई प्रकाशतर्फबाट हेर्दा पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। त्यसको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ तथा तल्लो भागमा ‘RUPEES FIFTY’ लेखिएको छ। नोटमा ‘2025 A.D.’ सिरिज नम्बरसमेत उल्लेख गरिएको छ।

राष्ट्र बैंकले यसअघि २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याएको थियो। त्यसबेला सूचित गरिएका संकेत नम्बरमध्ये ‘ज ८९, ०००००१’ देखि ‘ट २३, ९०००००’ सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु