गृहपृष्ठ रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’

रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने– ‘हिमालयन सुनामी’


 

आश्विन १, २०८३

बुटवल टाइम्स

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले बाढीका कारण पछिल्ला दुई–तीन दशकदेखि अघि बढाइएको नेपालको समृद्धिको अवधारणामै धक्का पुगेको बताएका हुन्।

 

“अहिलेको यो जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु–हिमालयन सुनामी। यो डिजास्टरले पछिल्लो समय कम्तीमा २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,” उनले भने।

गत १० भदौमा रसुवामा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। सरकारले उक्त विपद्का पछाडि जलवायु परिवर्तनको प्रभाव रहेको निष्कर्ष निकालेको छ। यसबारे थप अध्ययन भइरहेको जानकारी पनि मन्त्री खनालले दिए।

उनका अनुसार नेपालको विकास र समृद्धिको ठूलो हिस्सा नदी तथा हिमालयन नदी करिडोरसँग जोडिएको छ। उत्तर–दक्षिण जोड्ने प्रमुख सडक तथा पूर्वाधारको विकास पनि नदी करिडोरलाई आधार बनाएर अघि बढाइएको उनले बताए।

“हामीले दुई छिमेकी देशबीच जुन पुल तथा कनेक्टिभिटीको परिकल्पना गरिरहेका छौँ, त्यसको प्रमुख लाइफलाइन पनि रिभर करिडोरसँग जोडिएको छ,” उनले भने।

मन्त्री खनालले पछिल्ला ३०/४० वर्षमा नेपालको बस्ती तथा बजार विकाससमेत नदी करिडोरका बेसिन आसपास केन्द्रित हुँदै गएको बताए। जलविद्युत् विकास पनि नदीमै निर्भर रहेकाले विद्युत् उत्पादन, उपयोग र निर्यातमार्फत समृद्धि हासिल गर्ने नेपालको लक्ष्य हिमालयन नदी करिडोरसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ।

यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आगामी साता संयुक्त राज्य अमेरिका जाने तयारीमा छ। सोही पृष्ठभूमिमा संसदीय समितिले जलवायु परिवर्तनसम्बन्धी विषयमा विज्ञहरूसँग छलफल गरेको हो।

बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा उठाउने विषयमा पनि छलफल भएको थियो।

मन्त्री खनालले महासभामा नेपालको सहभागिता अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर भएको बताए।

उनले हिमालय क्षेत्रमा नेपाल तथा नेपालबाहिर भएका विभिन्न अध्ययन–अनुसन्धानलाई एकीकृत गरी त्यसका आधारमा नेपालको स्पष्ट र सुसंगत राष्ट्रिय धारणा निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु