गृहपृष्ठ सभ्यता, संस्कृति र संवेदनशीलता: स्याङ्जा पत्रकार समाजले बोकेको समृद्धिको विम्ब
सभ्यता, संस्कृति र संवेदनशीलता: स्याङ्जा पत्रकार समाजले बोकेको समृद्धिको विम्ब
स्याङ्जा पत्रकार समाज नेपालको दोस्रो स्थापना दिवस तथा नयाँ वर्ष २०८२ को अवसरमा बुधबार रुपन्देहीमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा नगरप्रमुख खाँणले स्याङ्जाको समृद्धि, सभ्यता र संस्कृतिलाई विश्वसामु चिनाउन स्याङ्जा पत्रकार समाजले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। स्थापना भएको छोटो अवधिमा समाजले उल्लेखनीय रचनात्मक कार्यहरू गरेकोमा उहाँले प्रसन्नता प्रकट गर्नुभयो।
समाजका अध्यक्ष डा. चापागाईंले “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने भावनालाई व्यवहारमा उतार्न विभिन्न योजनाहरू अघि सारिएको जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले समाजले छोटो समयमै राम्रो उदाहरण प्रस्तुत गर्दै सकारात्मक सन्देश सम्प्रेषण गरेको भन्दै बधाई व्यक्त गर्नुभयो।
त्यस्तै, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा समाजका उपाध्यक्ष दिनेश पाण्डेले स्याङ्जा पुर्ख्यौली थलो भएकोले विदेशमा रहेका स्याङ्जाली पत्रकार र नागरिकको सम्बन्ध सुदृढ बनाउँदै समाजले विकासमा जोड दिने लक्ष्य राखेको उल्लेख गर्नुभयो।
कार्यक्रममा अग्रज पत्रकार शेर बहादुर केसी, खिमानन्द भट्टराई, दामोदर खनाल, सुमन अधिकारी, गुनाराम घिमिरे, खेमराज रेग्मी, लेखक युवराज कंडेल, शैक्षिक व्यक्तित्व हरि ज्ञवालीलगायत दर्जनौं व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको सञ्चालन सचिव कमला पाण्डे (हरिकला)ले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष डिल्लीनारायण पाण्डेले राख्नुभएको थियो।










