गृहपृष्ठ लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
oplus_8388610
भदौ ९, २०८३
बुटवल टाइम्स
बुटवल । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री कृष्णाकुश्मा थारूले शपथ लिएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँण केसी तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरालगायतको उपस्थितिमा शपथग्रहण समारोह भएको हो।
मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख घर्तीमगरले सोमबार संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
पुनर्गठनसँगै तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन, रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास, सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेकपा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेपाली कम्युनिस्ट पार्टीबाट तीन र जनता समाजवादी पार्टी नेपालबाट दुईजना मन्त्री रहने सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। केन्द्रमा भएको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै लुम्बिनीमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारी अघि बढेको हो।
















