गृहपृष्ठ “सरसफाइ नै स्वस्थ र नमुना सहरको आधार ” खेलराज पाण्डे :

“सरसफाइ नै स्वस्थ र नमुना सहरको आधार ” खेलराज पाण्डे :


जेठ १ , २०८२
कल्पना घिमिरे

बुटवल – बुटवल उपमहानगरपालिकाले सरसफाई कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ । उपमहानगरले हरेक महिनाको १ र १५ गते नियमित रूपमा सरसफाई कार्यक्रम गर्दै आएको छ ।
यसैक्रममा शुक्रबार बुटवल उपमहानगरपालिकाले रुपन्देहीकै सबैभन्दा पुरानो तथा ठूलो हाटबजार क्षेत्रमा सरसफाई गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय टोल विकास संस्था, कान्ति माध्यमिक विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, व्यवसायी, सामाजिक अभियन्ता र पत्रकारहरूको सहभागिता रहेको थियो ।
नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालको उपस्थितिमा सञ्चालन गरिएको सरसफाई कार्यक्रममा बसपार्क, मुख्य सडक तथा बजार क्षेत्रका विभिन्न स्थान सफा गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले बुटवललाई नमुना सहरका रूपमा विकास गर्न सरसफाई पहिलो आवश्यकता रहेको बताए । उनले सरसफाई मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले अभियानमा सबै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे ।
उनले बुटवलमा छाडा गाईगोरुको समस्या बढ्दै गएको उल्लेख गर्दै आगामी जेठ ३ गते वडा नम्बर ३ देखि ११ सम्मका विभिन्न स्थानबाट गाईगोरु व्यवस्थापन गरिने जानकारी दिए । उक्त कार्यक्रममा पनि नगरवासीलाई सहभागी हुन उनले आग्रह गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले सरसफाइप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सरसफाइ व्यक्तिगत स्वास्थ्य, स्वच्छ वातावरण र सभ्य समाजसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यस्ता अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् । साथै, उनले सफा र स्वस्थ वातावरण निर्माणका लागि प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु