गृहपृष्ठ रुपन्देही–१ का साम्सद , भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल को हुन्?

रुपन्देही–१ का साम्सद , भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल को हुन्?


चैत १३ , २०८२

बुटवल । रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित सुनील लम्साल हाल नवनियुक्त भौतिक पूर्वाधारमन्त्रीका रूपमा चर्चामा रहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै उनले सहकार्य र सहअस्तित्वमा आधारित समाज निर्माण, मानव अधिकारको संरक्षण तथा वातावरणीय सन्तुलनसहितको विकासलाई आफ्नो राजनीतिक आधार बनाएका छन्। वर्तमान प्रणालीभित्रै रहेर क्षेत्रगत विज्ञता, स्थानीय ज्ञान र नागरिक सहभागितालाई समेट्दै सुधार सम्भव रहेको उनको विश्वास छ।

२०४७ साल असोज १८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका लम्साल हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा बसोबास गर्दै आएका छन्। सामान्य परिवारमा हुर्किएका उनी बोधराज र जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान हुन्। प्रारम्भिक र माध्यमिक शिक्षा भलबारीमै पूरा गरेका उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट उच्च शिक्षा हासिल गरेका हुन्।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय लम्साल एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुँदै केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्।

पेसाले सिभिल इन्जिनियर रहेका लम्सालले संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने काठमाडौँ विश्वविद्यालयमा ‘ठोस फोहर व्यवस्थापन’ विषयमा विद्यावारिधि गरिरहेका छन्। सहरी विकास, वातावरण व्यवस्थापन तथा राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभव उनको बलियो पक्ष मानिन्छ। २०७९ को स्थानीय निर्वाचनपछि उनले काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकारका रूपमा काम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु