गृहपृष्ठ बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
चैत १३ २०८२
बुटवल टाइम्स
काठमाडौं — बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनलाई रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताको रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएयता उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलो घटना हो।
३६ वर्षीय शाहले प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्। नवगठित मन्त्रिपरिषदमा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री र शिशिर खनाल परराष्ट्र मन्त्री नियुक्त भएका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि शाहले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका थिए। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी पहिलोपटक संसद् प्रवेशमै प्रधानमन्त्री बन्न सफल भएका हुन्।










