गृहपृष्ठ झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक , भूमिहीन र कृषि प्राथमिकतामा

झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक , भूमिहीन र कृषि प्राथमिकतामा

Oplus_16908288

११ फागुन २०८२

झापा–५ का प्रमुख समस्या तथा विकासका एजेन्डा समेटिएको उक्त वाचा–पत्रमार्फत शाहले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। साथै राजनीतिलाई पेसा नभई सेवा बनाउने दाबी पनि गरेका छन्।

वाचा–पत्रमा भनिएको छ, “राजनीतिलाई सेवा बनाउनेछु र जनताको विश्वासलाई काममा रूपान्तरण गर्नेछु। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाउने प्रयास गर्नेछु।”

शिक्षातर्फ विद्यालय छोड्ने दर शून्यमा झार्ने, सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ तथा प्रयोगशाला स्थापना गर्ने योजना अघि सारिएको छ।

स्वास्थ्य क्षेत्रमा विपन्न परिवारका लागि निःशुल्क उपचारको ग्यारेन्टी, दमक अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्ने तथा घर–घर स्वास्थ्य सेवा कार्यक्रममार्फत ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य जाँच गर्ने प्रतिबद्धता जनाइएको छ।

कृषिलाई झापा–५ को मुख्य आधार मान्दै आधुनिकीकरणमा जोड दिइएको छ। ‘कन्काई–रतुवा सिँचाइ योजना’ विस्तार तथा ‘एक पालिका, एक शीत भण्डार’ अवधारणा कार्यान्वयन गर्ने योजना वाचा–पत्रमा उल्लेख छ।

पूर्वाधार विकासअन्तर्गत दमक–रवि–चिसापानी सडक निर्माण सम्पन्न गर्ने, हुलाकी सडक तथा पुलहरू समयमै निर्माण गर्ने र दमकलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न आवश्यक संरचना तयार गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गरी व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता पनि शाहले व्यक्त गरेका छन्।

शाहले “जनअपेक्षा अनुरूप काम गर्न आएको हुँ, काम गर्न दिनुहोला” भन्दै मतदातासँग सहयोग र समर्थनको अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु