गृहपृष्ठ निर्वाचन तोकिएकै मितिमा हुन्छ : रामप्रसाद भण्डारी
निर्वाचन तोकिएकै मितिमा हुन्छ : रामप्रसाद भण्डारी
१० फागुन २०८२
काठमाडौं, १० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताएका छन्।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरे। निर्वाचनबारे अनावश्यक हल्ला फैलाउने काम भइरहेको उल्लेख गर्दै उनले उम्मेदवार तथा राजनीतिक दललाई भ्रममा नपरी प्रचारप्रसारमा सक्रिय रहन आग्रह गरे।
उनले निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै अहिलेको वातावरण बिथोलिने अवस्था नरहेको बताए। राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन अभियानमा सक्रिय रहेको उल्लेख गर्दै उनले नयाँ–पुराना सबै शक्तिहरूले निर्वाचनलाई नै निकासको माध्यमका रूपमा स्वीकार गरेको दाबी गरे।
निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे। “केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्यका लागि हल्ला फैलाउन सक्छन्, तर अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाको साक्षी बस्न सक्दैनन्। जसरी पनि निर्वाचन सम्पन्न हुन्छ,” उनले भने।









