गृहपृष्ठ स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालको सान्त्वना जित
स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालको सान्त्वना जित
६ फागुन २०८२
मुम्बई — दीपेन्द्रसिंह ऐरीको लगातार दोस्रो अर्धशतकको मद्दतले नेपालले मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपमा १२ वर्षपछि ऐतिहासिक जित दर्ता गरेको छ।
मुम्बईस्थित Wankhede Stadium मा १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल बाँकी रहँदा लक्ष्य पूरा गरेको हो।
दीपेन्द्रले २३ बलमा ५० रन बनाउँदै टोलीलाई जिततर्फ डो¥याए। उनले ४ चौका र ३ छक्का प्रहार गरे। यसअघि वेस्ट इन्डिजविरुद्धको खेलमा पनि उनले ५८ रन बनाएका थिए, जुन नेपाली खेलाडीको विश्वकपमा उच्च व्यक्तिगत स्कोर हो। विश्वकपमा नेपालको ३ अर्धशतकमध्ये दुई दीपेन्द्रकै नाममा छन्।
प्लेयर अफ द म्याच घोषित दीपेन्द्रले गुलशन झासँग चौथो विकेटका लागि ३६ बलमा ७३ रनको साझेदारी गरे। गुलशनले १७ बलमा २४ रन बनाउँदै महत्वपूर्ण साथ दिए।
ओपनर कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुआत दिलाएका थिए। पावर प्लेमा विनाक्षति ५६ रन जोडेको नेपालले ९ ओभरमा ७४ रन बनाएको थियो। १०औं ओभरको पहिलो बलमा माइकल लिस्कले कुशललाई क्याच गराए। कुशलले ३५ बलमा १ चौका र ५ छक्कासहित ३५ रन बनाए।
नेपालले २०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता विश्वकपमा जित निकाल्न सकेको थिएन। त्यसयता ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
यस संस्करणमा नेपाल इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भइसकेको थियो र दोस्रो चरणको दौडबाट बाहिरिसकेको अवस्थामा यो सान्त्वना जित हात पारेको हो।










