गृहपृष्ठ उज्यालो नेपाल पार्टीद्वारा वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान

उज्यालो नेपाल पार्टीद्वारा वैकल्पिक शक्तिहरूलाई एकताको आह्वान


पुस १२, २०८२

काठमाडौँ — उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले वैकल्पिक नयाँ राजनीतिक शक्तिहरूलाई एकतामा आउन आह्वान गरेको छ।

शनिबार काठमाडौँको त्रिपुरेश्वरमा बसेको बैठकले नयाँ राजनीतिक दलहरूसँग एकताको संवाद अघि बढाउने अधिकार पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ। पार्टी प्रवक्ता राजु थापाका अनुसार सबै राजनीतिक दलको सहअस्तित्व स्थापित हुने गरी एकता गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो।

थापाले केन्द्रीय समिति निर्णयबारे जानकारी दिँदै भन्नुभयो, “सबैको सहअस्तित्व स्थापित हुने गरी उज्यालो नेपाल पार्टी सदैव एकताको पक्षमा रहेको छ। आवश्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरिएको छ। एकताको संवाद गर्न पार्टी अध्यक्षलाई अधिकार दिइएको छ।”

यसैबीच उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबाट आएको एकताको प्रस्ताव भने अस्वीकार गरेको छ। एकतापछि पार्टी सभापति रवि लामिछाने र आगामी प्रधानमन्त्री बालेन्द्र शाह हुने प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भए पनि पार्टीले त्यसलाई स्वीकार नगरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु