गृहपृष्ठ मेस्सीबिनै अर्जेन्टिनाको शानदार जित, ब्राजिल स्तब्ध
मेस्सीबिनै अर्जेन्टिनाको शानदार जित, ब्राजिल स्तब्ध
१३ चैत, काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिललाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्दै अर्जेन्टिनाको विश्वकप यात्रा पहिले नै सुनिश्चित गरिसकेको थियो। लिओनेल मेस्सीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गर्दै ब्राजिललाई पराजित गर्यो।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, र जिउलियानो सिमीओनी ले गोल गरे। ब्राजिलका लागि माथिउस कुन्हा ले सान्त्वना गोल फर्काए।
खेलको ४औं मिनेटमा थियागो अल्माडाको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। १२औं मिनेटमा नाहुल मोलिनाको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर बनाए।
ब्राजिलका कुन्हाले २६औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए। तर ३७औं मिनेटमा म्याक एलिस्टरले एन्जो फर्नान्डेजको पासमा गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमै ३-१ को मजबुत अग्रता दिलाए।
दोस्रो हाफमा अर्जेन्टिनाले थप एक गोल गर्यो। ७४औं मिनेटमा सिमीओनीले गोल गर्दै ब्राजिलको पुनरागमनको सम्भावना समाप्त गरे।
यो जितसँगै अर्जेन्टिना १४ खेलबाट ३१ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। ब्राजिल समान खेलबाट २१ अंकसहित चौथो स्थानमा छ। इक्वेडर (२३ अंक) दोस्रो, उरुग्वे (२१ अंक) तेस्रो, र पाराग्वे (२१ अंक) पाँचौं स्थानमा छन्। कोलम्बिया (२० अंक) छैटौं स्थानमा रहँदा शीर्ष ६ टोली सिधै विश्वकपमा छनोट हुनेछन्। सातौं स्थानमा रहने टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्नेछ।
छनोट अन्तर्गत अन्य खेलहरूमा उरुग्वे-बोलिभिया र इक्वेडर-चिलीले गोलरहित बराबरी खेले। कोलम्बिया र पाराग्वेबीचको खेल २-२ को बराबरीमा सकियो भने भेनेजुएलाले पेरुलाई १-० ले हरायो।









