गृहपृष्ठ आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना
आजको मौसम: पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडमा हिमपातको सम्भावना
१३ चैत, काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली भए पनि अधिकांश क्षेत्रमा मौसम सफा रहनेछ। दिउँसो विशेष गरी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने कोशी, गण्डकी, र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
रातिको समय कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान छ। यद्यपि, कोशी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसममा हुने यी परिवर्तनहरू दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।






