गृहपृष्ठ स्काउटको लैनचौर जग्गा फिर्ता: पूर्वमन्त्री दीपक खड्काको संरचना डोजरले भत्काइयो
स्काउटको लैनचौर जग्गा फिर्ता: पूर्वमन्त्री दीपक खड्काको संरचना डोजरले भत्काइयो
कार्तिक २७, २०८२
काठमाडौँ — नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कब्जामा लिएको काठमाडौँको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनाहरू भत्काउने कार्य सुरु गरिएको छ।
तीन रोपनी क्षेत्रफलको उक्त जग्गा स्काउटले भाडामा दिएको थियो। तर २०७५ सालमै भाडा सम्झौता सकिएको र त्यसपछि कम्पनीले न त सम्झौता नवीकरण गर्यो, न त भाडा तिर्यो। पटक–पटक चेतावनी दिँदासमेत खड्काले अदालतका आदेशसम्म उल्लङ्घन गर्दै उक्त जग्गा खाली गर्न मानेका थिए।
गत बिहीबार स्काउटले एक साताभित्र बक्यौता भाडा असुल नगरे संरचना जफत गर्ने सूचना सार्वजनिक गरेको थियो। उक्त समयसीमा सकिँदासम्म पनि रकम बुझाइ नभएपछि स्काउटले बिहीबारै डोजर प्रयोग गरेर संरचना भत्काउन थालेको हो।
संरचना भत्काउने क्रममा युवा तथा खेलकूदमन्त्री बब्लु गुप्तासहितको टोली स्थलमा पुगेको थियो। सो बेला सुरक्षा व्यवस्था कडा पारिएको थियो।
स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालय परिसरभित्र रहेको जग्गामा खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कार्यालय सञ्चालनका लागि भवन निर्माण गरेको थियो। तर सम्झौता सकिएपछि पनि नेता खड्काले राजनीतिक प्रभावको भरमा त्यहीँ कब्जा जमाइरहेको स्काउट स्रोतले जनाएको छ।









