गृहपृष्ठ भट्टराईको जेन–जीलाई सुझाव : ‘राजनीतिमा दृश्य मात्र होइन, अदृश्य पक्ष पनि बुझ्नुपर्छ’
भट्टराईको जेन–जीलाई सुझाव : ‘राजनीतिमा दृश्य मात्र होइन, अदृश्य पक्ष पनि बुझ्नुपर्छ’
कार्तिक २०, २०८२
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा. बाबुराम भट्टराईले नयाँ पुस्ताका जेन–जी राजनीतिक अगुवालाई राजनीति गर्दा ‘दृश्य मात्र होइन, अदृश्य पक्ष’ पनि बुझ्नुपर्ने सुझाव दिएका छन्।
राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीतिमा उत्साह र जोश मात्र पर्याप्त नहुने बताउँदै सावधानी अपनाउन आग्रह गरे।
भट्टराईले भने, “राजनीतिमा ख्याल गर्नू, सबै दृश्य मात्र हुँदैन, अदृश्य पनि धेरै कुरा हुन्छ। अहिले जोसमा सबै गर्न सक्छौं जस्तो लाग्छ, तर वास्तविकता फरक हुन्छ। हात्ती जस्ता ठूला शक्तिसँग लड्न गाह्रो पर्छ, त्यसैले राजनीतिमा धेरै कुरामा ख्याल गर्नुपर्छ।”
संविधान निर्माण प्रक्रियाको सन्दर्भ जोड्दै उनले वर्तमान संविधानलाई “आधा भरिएको गिलास”को रूपमा व्याख्या गरे। उनका शब्दमा, “हिजो हामीले अपूर्णतासहितको संविधान बनायौं। आधा अहिले भरेका छौं, आधा पछि भरौंला भनेर लेख्यौं। त्यसैले संघीयता लगायतका कुरा फ्याँक्ने होइन, अपूर्ण पक्षलाई क्रमशः सुधार गर्दै पूर्ण बनाउनुपर्छ।”
भट्टराईले विगत दशकदेखि पुरानो शक्तिको विकल्पका रूपमा नयाँ राजनीतिक सोचका लागि आफूहरू संघर्षरत रहेको बताए। “संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ। अरू तीन टाउकाले दस वर्ष देश चलाए। त्यसविरुद्ध हामी लडिरहेका थियौं। अहिले तपाईंहरूको ताकत थपिएको छ, यसमा हाम्रो पूर्ण साथ छ,” उनले भने।
उनका अनुसार संविधानको अपूर्णता नै सुशासन र अपेक्षित आर्थिक वृद्धि नआउनुको कारण बनेको हो। उनले जेन–जी पुस्ताका नेताहरूलाई त्यो बुझ्दै सुधार र रूपान्तरणको दिशामा अघि बढ्न सुझाव दिए।










