गृहपृष्ठ सेनाको विवरण : आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदी मारिए, ४१ जनाको मृत्यु अनिश्चित

सेनाको विवरण : आन्दोलनमा २२ प्रदर्शनकारी, ३ प्रहरी र १० कैदी मारिए, ४१ जनाको मृत्यु अनिश्चित


आश्विन ३१, २०८२

काठमाडौं । नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये ४१ जनाको मृत्युको कारण र जिम्मेवार पक्ष स्पष्ट नभएको जनाएको छ ।

शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलनमार्फत चैत २३ र २४ गतेका घटनासँग सम्बन्धित विस्तृत विवरण सार्वजनिक गर्दै ती ४१ जनालाई ‘अन्य’ सूचीमा राखिएको जानकारी दिएको हो।

सेनाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको मृत्युको पुष्टि भएको छ । बाँकी ४१ जनाको मृत्यु कसरी र कसबाट भयो भन्ने विषयमा स्पष्टता नआएको जनाइएको छ।

सेनाको विवरण अनुसार प्रहरीको गोलीबाट २२ प्रदर्शनकारी मारिएका थिए भने विभिन्न जेलबाट भाग्ने क्रममा १० जना कैदी बन्दीको ज्यान गएको हो। आन्दोलनकारीबाट मारिएका ३ प्रहरीबाहेक ‘अन्य’ समूहका ४१ जनाको मृत्यु लुटपाट, आगजनी वा आफैंले लगाएको आगोमा जलेर भएको हुनसक्ने सेनाको अनुमान छ।

भाटभटेनीलगायत स्थानमा आगजनीका क्रममा जलेका तथा विभिन्न व्यक्तिका घरमा आगलागी हुँदा मृत्यु भएकालाई ‘अन्य’ सूचीमा समेटिएको सेनाले जनाएको छ।

सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका ९७८ मध्ये ५८६ थान हतियार फिर्ता वा बरामद गरिएको विवरण पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु