गृहपृष्ठ बुटवल जितगढीको सरायँ नाच नरोकिने — समितिकाे स्पष्टिकरण: ‘गलत प्रचार असत्य’
बुटवल जितगढीको सरायँ नाच नरोकिने — समितिकाे स्पष्टिकरण: ‘गलत प्रचार असत्य’
आश्विन १८, २०८२
बुटवल । बुटवल उपमहानगरपालिका–१३ जितगढीमा रहेको सरायँ व्यवस्थापन समितिले यस वर्षको सरायँ नाच नहुने भन्ने प्रचारलाई असत्य र भ्रमपूर्ण भएको जनाएको छ। समितिले बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत सरायँ नाच नियमित रूपमा हुने स्पष्ट पार्दै गलत प्रचारको खण्डन गरेको हो।
गत वर्षको कार्यक्रममा प्रमुख अतिथि मन्त्रीमाथि ‘रक्सी र मासु खाएको’ भन्ने आरोप लगाइएपछि यस वर्षको जितगढी सरायँ नाच हुने–नहुने भन्ने अन्योल उत्पन्न भएको थियो। समितिका सल्लाहकार ऋषि आजादले सामाजिक सञ्जालमार्फत उक्त आरोप सार्वजनिक गरेका थिए।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खिमबहादुर थापाले भने, “आजादज्यूले सामाजिक सञ्जालमा सरायँ नाच नहुने भन्दै लेख्नु भयो, जसले समितिलाई गम्भीर बनायो। तर त्यो सबै गलत प्रचार हो।”
थापाका अनुसार गत वर्षको कार्यक्रममा मन्त्री न्यौपानेले ३२ हजारको मासु र रक्सी खाएको भन्ने दाबी पूर्ण रूपमा निराधार हो। “गत वर्षको सम्पूर्ण खर्च ६२ हजार ५ सय रुपैयाँ मात्र भएको हो। मन्त्रीज्यू बिरामी भएकाले केही खानु नै भएको थिएन,” उनले स्पष्ट पारे।
सरायँ व्यवस्थापन समितिका सचिव पीताम्बर भण्डारीले भने, “जितगढीमा १२ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ऐतिहासिक सरायँ नाच कसैले निराधार आरोप लगाउँदैमा बन्द हुँदैन। यस वर्ष पनि बुटवल सरायँ नाच भव्यताका साथ हुनेछ।”
भण्डारीले समितिको सम्पूर्ण हिसाब–किताब पारदर्शी रहेको दाबी गर्दै भने, “समितिको निर्णय बिना कुनै काम हुँदैन। पोसाक समितिकै जिम्मामा खरिद गरिएको हो, पदबाट मुक्त भएपछि फिर्ता गर्नुपर्ने गरी वितरण गरिएको छ।”
गत वर्ष समितिले २५ जना पुरुष सदस्यका लागि दौरा सुरुवाल, ३ जना महिला सदस्यका लागि ढाकाको ब्लाउज र सारी खरिद गरेको थियो। साथै, ७५ थान स्टकोट र टोपी पनि समितिकै नाममा किनिएको थियो। ती सबै पोसाकहरू सरायँ नाचको समयमा मात्र प्रयोग गर्न पाइने निर्णय समितिले गरेको छ।
भण्डारीले थपे, “जितगढी सरायँ नाच हाम्रो सांस्कृतिक पहिचान हो। गलत हल्लाले समुदायलाई भ्रममा पार्न खोजेको छ, तर हामी सबै मिलेर यो परम्परा निरन्तरता दिन प्रतिबद्ध छौं।”










