गृहपृष्ठ जेन–जी आन्दोलनपछि सुरक्षा संकट : प्रहरीको आन्तरिक प्रतिवेदन

जेन–जी आन्दोलनपछि सुरक्षा संकट : प्रहरीको आन्तरिक प्रतिवेदन


आश्विन ७, २०८२

काठमाडौँ — भदौ २४ गते जेन–जी आन्दोलनपछि भड्किएको हिंसा र तोडफोडले मुलुकको सुरक्षा अवस्था गम्भीर बनेको नेपाल प्रहरीले आन्तरिक प्रतिवेदनमार्फत निष्कर्ष निकालेको छ।

प्रहरीले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीहरू मानसिक रूपमा आहत भई मनोबल खस्किएको उल्लेख छ। ब्यारेक, कार्यालय, लत्ताकपडा, सवारीसाधन जलेर क्षति पुगेका कारण शान्तिसुरक्षा कायम गर्न कठिन भइरहेको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनअनुसार हिंसात्मक घटनामा देशभर १९७ प्रहरी संरचना पूर्णरूपमा नष्ट र २५८ आंशिक क्षतिग्रस्त भएका छन्। ५२५ प्रहरी सवारीसाधन जलेका छन् भने ठूलो संख्यामा सञ्चार उपकरण, सीसीटीभी, स्क्यानर, मेटल डिटेक्टरलगायत लुटिएका वा जलेका छन्।

सो घटनामा १ हजार २ सयभन्दा बढी हातहतियार र करिब १ लाख राउन्ड गोली हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ। साथै, २६ कारागार र बन्दीगृह तोडफोड हुँदा १४ हजारभन्दा बढी कैदी भागेका मध्ये अझै ७ हजारभन्दा बढी फरार छन्। यसले आम नागरिकमा डरत्रास बढाएको प्रहरीको भनाइ छ।

प्रतिवेदनले असन्तुष्ट पक्षबीच आन्तरिक द्वन्द्व, सशस्त्र समूहहरूको पुनरुत्थान, साइबर अपराध, सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलन सक्ने खतरा औंल्याएको छ।

सरकारले उक्त घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिसकेको छ। आयोगलाई तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु