गृहपृष्ठ दशैं यात्राः २४ घण्टामा ४३ हजार उपत्यकाबाट बाहिरिए
दशैं यात्राः २४ घण्टामा ४३ हजार उपत्यकाबाट बाहिरिए
आश्विन ६, २०८२, काठमाडौं । दशैं सुरु भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या तीव्र गतिमा बढ्न थालेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा मात्रै करिब ४३ हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन् । सोही अवधिमा २८ हजार यात्रु उपत्यकाभित्रिएका छन् ।
ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार दशैंको घटस्थापनासँगै यात्रुको आवागमन झनै बढ्ने अनुमान गरिएको छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयमा बिदा सुरु भइसकेकाले गाउँ फर्किनेको संख्या बढ्दै गएको जनाइएको छ । सरकारी बिदा भने फूलपातीदेखि मात्र सुरु हुने भएकाले त्यसपछि अझै धेरै यात्रु बाहिरिने अपेक्षा गरिएको छ ।
गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा अवस्था सामान्य हुँदै गएपछि उपत्यका छाड्ने क्रम बढेको थियो । दशैं सुरु भइसकेकाले अहिले यात्रु संख्यामा थप वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ ।
हाल काठमाडौंका नाकाहरु र नयाँ बसपार्कमा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । तर नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टा अवरुद्ध हुँदा यात्रु र सवारी साधनको चाप बढेको थियो । हाल सडक खुलेसँगै स्थिति विस्तारै सामान्य बन्दै जाने विश्वास ट्राफिक प्रहरीले व्यक्त गरेको छ ।










