गृहपृष्ठ जेनजी आन्दोलन छानबिनका लागि आयोग गठन गर्ने सरकारको तयारी
जेनजी आन्दोलन छानबिनका लागि आयोग गठन गर्ने सरकारको तयारी
असोज ५, २०८२
काठमाडौँ — भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने तयारी गरेको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि मन्त्रिपरिषद बैठकमार्फत् छानबिन आयोग गठन गर्ने सैद्धान्तिक सहमति जनाएको थियो। आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले आयोग गठनको औपचारिक निर्णय गर्ने सम्भावना प्रधानमन्त्री निकट स्रोतले जनाएको छ
अहिलेसम्म आयोगको नेतृत्व कसले गर्ने भन्ने निश्चित भइसकेको छैन। तर पूर्वन्यायाधीशकै नेतृत्वमा आयोग गठन गर्ने तयारी भएको बुझिएको छ।
जेनजी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनका क्रममा काठमाडौंमा मात्र १७ जनाको ज्यान गएको थियो भने हालसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको छ। त्यसको भोलिपल्ट, भदौ २४ गते, सर्वोच्च अदालत, सिंहदरबारलगायतका सरकारी निकाय तथा नेताहरुका निजी आवासमा समेत आगजनी र तोडफोड भएको थियो।
यी सबै घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी रहेको बताइएको छ।
उक्त आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो।










