गृहपृष्ठ संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: “जनआकाङ्क्षाअनुसार काम गर्छौं”
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: “जनआकाङ्क्षाअनुसार काम गर्छौं”
आश्विन ३, २०८२
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा जनआकाङ्क्षाअनुसार दृढ सङ्कल्पसहित काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विगतका आन्दोलनहरूले दिएका मर्म आत्मसात् गर्दै सरकार अघि बढ्ने बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार सरकारका गतिविधिमा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास—यी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन्। “यस्ता एजेन्डा कार्यान्वयन गर्दै जनअपेक्षा अनुसार काम गर्न वर्तमान सरकार प्रतिबद्ध छ,” उनले भनिन्।
“पदको लोभ होइन, सङ्कट व्यवस्थापनका लागि नेतृत्व”
प्रधानमन्त्री कार्कीले आफू पदको लोभमा नभई मुलुक सङ्कटमा परेको बेला युवा पुस्ताको अनुरोधका आधारमा नेतृत्व लिएको स्पष्ट पारिन्। संविधानले तोकेको व्यवस्था अनुसार आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रन नसक्नु र कानुनी शासन तथा सुशासनमा कमजोरी देखिनु नै वर्तमान अवस्थाको कारण भएको टिप्पणी गरिन्।
पुनर्निर्माण र सहयोगको आग्रह
कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र व्यवसायिक प्रतिष्ठानले व्यहोरेको क्षति न्यूनीकरण प्रमुख चुनौती बनेको बताइन्। यस कार्यमा सबै पक्षको सहकार्य र सहयोग आवश्यक भएको भन्दै उनले राष्ट्रिय एकताको आह्वान गरिन्।










