गृहपृष्ठ तातोपानी नाका ठप्प: करोडौँको सामान चिनियाँ क्षेत्रमा अड्कियो,
तातोपानी नाका ठप्प: करोडौँको सामान चिनियाँ क्षेत्रमा अड्कियो,
आश्विन ३, २०८२
काठमाडौं । चीनसँगको मुख्य व्यापारिक तातोपानी नाका साउनको पहिलो सातादेखि अवरुद्ध छ। अरनिको राजमार्गअन्तर्गतको कोदारी खण्ड, भोटेकोसी गाउँपालिका–२ मा खसेको इको पहिरोका कारण बाटो नै ठप्प भएको हो।
निरन्तरको वर्षाले भोटेकोसी नदीको बहाव बढ्दै तलबाट सडक तानिएको छ भने माथिबाट निरन्तर पहिरो खसिरहेकाले जोखिम झन् बढेको छ। यसले नाका मात्र बन्द गरेको छैन, आसपासका बस्तीसमेत उच्च जोखिममा परेका छन्।
करोडौंको सामान रोकियो, व्यापारी मारमा
सडक बन्द भएपछि स्थानीय मात्र होइन, नाका प्रयोग गर्दै आएका व्यापारीहरू समेत विस्थापित हुने चिन्तामा छन्। डाक्लाङ–लिपिङ सडक खण्ड अवरुद्ध हुँदा विशेषगरी चाडपर्व लक्षित व्यापार ठप्प भएको छ।
सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाका अनुसार दसैँ–तिहार र जाडो महिनाका लागि ल्याइएका फलफूल, कपडा तथा अन्य सामग्रीसहित १५ सयभन्दा बढी कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका छन्। उनले भने,
‘दसैँ लक्षित सामानसहित झन्डै १ हजार कन्टेनर अड्किएका छन्। फलफूल र कुहिने सामग्री प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन्। चीनको गोदाम महँगो भएकाले व्यापारी थप मारमा परेका छन्।’
उनका अनुसार चीनको ल्हासा, न्यालम र सिगार्चेमा राखिएको सामानको भाडा मात्र दैनिक १२ देखि १४ हजार रुपैयाँ पर्छ। “पचास दिनभन्दा बढी भइसकेको छ, अहिले भाडा ट्रान्सपोर्टले नै तिर्नुपरेको छ,” उनले भने।
भरियामार्फत सामान तर्ने बाध्यता
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार सडक बन्द भएपनि व्यापारीहरूले भरियामार्फत सामान तर्न थालेका छन्। एक कन्टेनर बराबरको सामान बोकाउँदा करिब १ लाख रुपैयाँ खर्च हुने उनले बताए।
हाल दैनिक १२–१४ वटा कन्टेनरको सामान यसरी पहिरो पास गराइरहेको उनले बताए। उनका अनुसार अहिले पनि १,००० देखि १,५०० कन्टेनर तिब्बतका विभिन्न भूभागमा रोकिएका छन्।
राज्यलाई दैनिक ९ करोड राजस्व नोक्सानी
तातोपानी नाका बन्द हुँदा व्यापारी मात्र होइन, राज्य पनि ठूलो नोक्सानीमा परेको छ। बस्नेतका अनुसार यस नाकाबाट दैनिक झण्डै ९ करोड रुपैयाँ राजस्व संकलन हुने गरेकोमा दुई महिना बन्द हुँदा लक्ष्यमात्रा पुरा हुने सम्भावना छैन।
अस्थायी सञ्चालनको तयारी
भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको निर्देशनअनुसार सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले अवलोकन गरिसकेको छ।
जैसीले भने, ‘हामी शुक्रवारदेखि काम सुरु गर्छौं। पानी निरन्तर परेन भने ५–७ दिनभित्र सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउँछौं।’
उनका अनुसार स्थायी समाधानका लागि कात्तिक मसान्तभित्र ठेक्का आह्वान गर्ने र आगामी वर्षाअघि नै सडक पुनर्निर्माण गर्ने तयारी भइरहेको छ। तर स्थानीय सहकार्य र मौसमको अवस्था नै निर्णायक हुने उनले स्पष्ट पारे।

















