गृहपृष्ठ जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो


 

भाद्र ३१, २०८२

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भड्किएका घटनामा सुरक्षाकर्मी र नागरिक गरी ७३ जनाको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरेका अनुसार ज्यान गुमाउनेमध्ये सुरक्षातर्फ ३ जना रहेका छन् । असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापाको मृत्यु भएको हो ।

त्यसैगरी नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली प्रहारपछि घटनास्थलमै तथा उपचारका क्रममा २१ प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, इस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योगबहादुर श्रेष्ठ, माधव सारु मगर, बिमल बाबु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन् ।

भदौ २४ गते भएको लुटपाट तथा आगजनीका घटनामा थप ३८ जनाको ज्यान गएको छ । भाटभटेनी सुपरमार्केट र आसपासका बासिन्दाको घरमा जलेको अवस्थामा मात्र १५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

यस्तै, कैदीबन्दी तथा बालबन्दीसम्बन्धी घटनामा १० जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु