गृहपृष्ठ जेन–जी आन्दोलनलाई दुरुपयोग गर्न खोजिँदैछ : अध्यक्ष राउतको सतर्कता अपिल
जेन–जी आन्दोलनलाई दुरुपयोग गर्न खोजिँदैछ : अध्यक्ष राउतको सतर्कता अपिल
२०८२ भदौ २६
काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन–जी पुस्ताको आन्दोलनलाई ‘दुरुपयोग गर्न खोज्ने पछाडिका शक्ति’ सक्रिय भएको भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनले आन्दोलनलाई जनताको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाज सम्बोधन गर्ने बाटोतर्फ मोड्न आवश्यक रहेको बताए।
डा. राउतका अनुसार राज्यका महत्वपूर्ण संरचना जलाउने, वर्षौंको संघर्षपछि बनेको संविधान खारेज गर्ने वा निर्वाचित संसद् भंग गर्ने जस्ता कदमले देशलाई गम्भीर संकटतर्फ धकेल्नेछ। “त्यस्तो अवस्थामा देश नै नरहने वा कठपुतलीलाई उम्भाएर अरुकै हातमा जाने खतराको पृष्ठभूमि तयार हुन्छ,” उनले चेतावनी दिए।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले आन्दोलन दुरुपयोग भए अर्को दशकसम्म मुलुक अनिर्णय र अस्थिरताको दलदलमा फस्न सक्ने चिन्ता व्यक्त गरे। उनका शब्दमा, “संविधान संशोधनको आवश्यकता भए पनि चुनाव नभएसम्म संसद् जीवित राख्नै पर्छ, अन्यथा रिक्तता निम्तिन्छ।”
उनले दशकौँको बलिदानपछि सम्भव भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई हरेक परिस्थितिमा रक्षा गर्नुपर्नेमा जोड दिए। “कसैले जतिसुकै दुश्प्रचार गरे पनि यो देशको अस्तित्व जोगाउन संघीयता, लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्नु अपरिहार्य छ,” उनले भने।
जेन–जीलाई सम्बोधन गर्दै उनले चेतावनी दिए, “यदि तपाईंहरूले कसैको उक्साहटमा संविधान र संसद् भंग गर्नुभयो भने अर्को दशक संविधान बनाउनमै अल्झनुहुनेछ, काम गर्ने वातावरण बन्ने छैन। त्यो ‘प्यान्डोराज बक्स’ हो।” त्यसैले उनले अन्तरिम सरकार गठन गरेर पनि वर्तमान संसद् कायम राख्दै निर्वाचनतर्फ अगाडि बढ्नुपर्ने बताए।
यद्यपि उनकी पार्टीले संसद् बहिष्कार गर्ने घोषणा गरिसकेको भए पनि संसद्लाई जीवित राख्ने पक्षमै आफूहरू रहेको उनले स्पष्ट पारे।
आन्दोलनपछिको अवस्थाले कुनै निश्चित वर्ग वा समूह मात्र होइन, मेचीदेखि महाकाली, हिमाल–पहाडदेखि तराई–मधेशसम्म, सबै समुदायलाई समेट्ने खालको समाधान दिनुपर्ने उनले जोड दिए। “खसआर्यदेखि मधेशी, थारू, आदिवासी–जनजाति, मुस्लिम, दलित, महिला, पिछडावर्गदेखि सीमान्तकृत सबैलाई अपनत्व दिने व्यवस्था हुनुपर्छ,” उनले भने।








