गृहपृष्ठ विराटनगरमा जेनजीको विरोध रोक्न प्रहरीको ब्यारिकेट

विराटनगरमा जेनजीको विरोध रोक्न प्रहरीको ब्यारिकेट


भाद्र २३, २०८२

विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेसन जेड (जेनजी) ले विराटनगरमा गर्ने भनिएको प्रदर्शन रोक्न प्रहरीले बिहानैदेखि जिल्ला प्रशासन कार्यालय वरिपरि कडा सुरक्षा व्यवस्था गरेको छ।

प्रशासन परिसर छिर्ने बाटोमै फलामे तारजालीसहितको ब्यारिकेट खडा गरिएको छ। बिहानैदेखि पानी परिरहेको भए पनि प्रहरीले टोली खटाएर आन्दोलन रोक्ने तयारी गरेको हो।

जेनजीसम्बद्ध युवाहरूले दिउँसो महेन्द्र चोकमा भेला भई शान्तिपूर्ण जुलुस निकाल्ने र त्यसअघि संसारीमाई स्थानबाट प्रशासन कार्यालयतर्फ अघि बढ्ने पूर्वनिर्धारित कार्यक्रम सार्वजनिक गरेका छन्। उनीहरूले किताब र आफ्नै तयार प्लेकार्डसहित सहभागिता जनाउन सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।

विराटनगरमा विरोध कार्यक्रम १ देखि २ घण्टासम्म चल्ने बताइएको छ। साथै, बिहान ११ बजे प्रशासन कार्यालयनजिकै पनि छुट्टै प्रदर्शन गर्ने तयारी गरिएको छ।

सामाजिक सञ्जाल बन्द र अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने सरकारी निर्णयविरुद्ध देशभर फैलिँदै गएको जेनजी आन्दोलन अहिले काठमाडौंलगायत विभिन्न शहरमा भइरहेको छ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो आन्दोलन राजनीतिक उद्देश्यले प्रेरित गरिएको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु