गृहपृष्ठ मिलिजुली आमा समूहद्वारा मौलिक शैलीमा तीज कार्यक्रम सम्पन्न

मिलिजुली आमा समूहद्वारा मौलिक शैलीमा तीज कार्यक्रम सम्पन्न


कल्पना घिमिरे

बुटवल –  मिलिजुली आमा समूहले यस वर्षको तीज पर्वलाई भड्किलो र खर्चिलो प्रदर्शनभन्दा पर राख्दै, मौलिक संस्कृति र सामूहिक आत्मीयताको भावनासहित विशेष शैलीमा मनाएको छ। साधारण पहिरन, शालीन पोशाक र परम्परागत खानेकुरा सहित महिलाहरू एकै स्थानमा भेला भई दर खाने, गीत गाउँने, नाच्ने र आपसी अनुभव साट्ने अवसर पाएका थिए।

टोलबाट विभिन्न उमेरका महिलाहरू  फलफूल, तरकारीका परिकार, मिठाई र पारम्परिक पेय लिएर कार्यक्रममा सहभागी भएका थिए। दरको टेबल रंगीचंगी परिकारले भरिएको थियो, जसको स्वाद लिँदै महिलाहरूले आपसी हालखबर साटासाट गरे।

भड्किलो प्रवृत्तिको विरुद्धमा मौलिकता

हालका वर्षहरूमा तीज पर्व महँगो र प्रदर्शनमुखी बन्दै गएको भन्दै, समूहका सदस्यहरूले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार, महँगो गहना, महंगा लुगा र अत्यधिक खर्चिलो भोजले तीजको वास्तविक भावना ओझेलमा पारिरहेको छ।
समूहकी अध्यक्ष कल्पना ज्ञवालीले भनिन्, “तीजको मूल उद्देश्य आत्मीयता बढाउने, खुशी साट्ने र संस्कृतिको संरक्षण गर्ने हो। महिलाहरू वर्षभर आफ्ना घरका जिम्मेवारीमा व्यस्त हुन्छन्। कम्तीमा पनि आजको दिन भने उनीहरूले एक–अर्कालाई भेट्ने, रमाइलो गर्ने र तनावमुक्त समय बिताउने अवसर पाउनुपर्छ।”

कार्यक्रमको अर्को विशेषता भनेको महिलाहरूले आफ्ना जीवनका पीर–बेथा, संघर्ष र आशाहरूलाई गीतका शब्द र लयमा उतार्नु थियो। विवाहपश्चात् पराइ घरमा भोगिएका दुःख, मायाका सम्झना, परिवारसँगको दूरी र सामुदायिक समर्थनको महत्त्व गीतमार्फत भावपूर्ण रूपमा व्यक्त गरिएको थियो। यी गीतहरूले सहभागीहरूलाई भावुक पनि बनाए र आपसी समझदारीलाई अझ मजबुत पनि बनायो।

समूहकी कोषाध्यक्ष जानुका पाण्डेका अनुसार, यस्ता सामूहिक कार्यक्रमहरूले केवल रमाइलो मात्र नभई, समुदायभित्रको सम्बन्धलाई मजबुत बनाउने काम गर्छन्। उनले भनिन्, “समूहका सबै सदस्यहरू सभ्य र भव्य ढंगले सहभागी भएका थिए । उपाध्यक्ष सविता ज्ञवालीका अनुसार
बेलाबेलामा यस्ता कार्यक्रम आयोजना गर्न सके, आपसी एकता अझ सुदृढ हुन्छ।”

कार्यक्रममा महिलाहरूले सामूहिक नृत्य, स्थानीय भाका र परम्परागत धुनमा प्रस्तुतिहरू दिएका थिए। हाँसो–ठट्टा, रमाइला संवाद र बालबालिकाको चञ्चलताले माहोल झन् जीवन्त बनेको थियो।

मिलिजुली आमा समूहले यस अवसरमा  यसले पर्वलाई मात्र मनोरञ्जनको थलो नभई सामाजिक सशक्तिकरणको मञ्च बनाएको सहभागीहरूले बताए।

अन्ततः, मौलिक शैली, आत्मीयता र सामुदायिक भावनाका साथ सम्पन्न भएको  तीज कार्यक्रमले सहभागीहरूको अनुहारमा मुस्कान, मनमा सन्तुष्टि र संस्कृतिप्रतिको गर्वको भाव बोकेर कार्यक्रम  समाप्त भयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु