गृहपृष्ठ शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति

शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति


२१ साउन, काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यसहित भोली बैठक बोलाएको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार, आज बसेको परामर्श उपसमितिको छलफलपछि मुख्य समितिको बैठक भोलीका लागि तय गरिएको हो।

‘भोलि विधेयक पास गर्न नै बैठक बोलाइएको हो’, सभापति थापाले अनलाइनखबरसँग भने, ‘केही विषयमा सहमति भइसकेको छ, केही बाँकी छ, तर भोली टुंग्याउने तयारी छ।’

सबैभन्दा बढी विवादित बनेको शिक्षकको आवधिक बढुवा सम्बन्धी प्रस्तावमा आंशिक सहमति जुटेको जनाइएको छ। यसअघि एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले बढुवाका लागि कार्यसम्पादन मूल्यांकनमा ९० अंक आवश्यक पर्ने प्रस्ताव गरेको थियो। तर, शिक्षक महासंघले यसमा असहमति जनाउँदै आएको थियो।

विश्वस्त स्रोतअनुसार, परामर्श उपसमितिमा ९० अंकलाई घटाएर ८० बनाउने सहमति जुटेको छ। यद्यपि उक्त सहमति समितिको पूर्ण बैठकले अनुमोदन गरेपछि मात्रै विधेयक पास हुनेछ।

समितिका एक सदस्यका अनुसार, ‘उपसमितिमा भएको सहमति समितिको बैठकमा प्रस्तावको रूपमा लैजाने निर्णय भएको छ।’ तर, केही सांसदले भने ९० अंकमै कायम राख्नुपर्ने धारणा राखेकाले अन्तिम निर्णय समिति बैठकले गर्नेछ।

यदि अन्य कुनै विषयमा असहज अवस्था नआएमा भोलीको बैठकमै विद्यालय शिक्षा विधेयक पारित गर्ने तयारी गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु