गृहपृष्ठ अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने


काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो नयाँ व्यवस्था लागू भएको हो।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गतको दफा ५४ को उपदफा ३ संशोधन गर्दै चालक अनुमतिपत्रको अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको छ। यससँगै नविकरणबाट पनि लाइसेन्सको मान्य समयसीमा १० वर्ष हुने स्पष्ट गरिएको छ।

अघिसम्म एकपटक नविकरण गर्दा लाइसेन्सको वैधता ५ वर्षमात्र हुने प्रचलन थियो। अब भने एकपटक नविकरण गरेपछि १० वर्षसम्म पुनः नविकरण गर्नुपर्ने झन्झट रहने छैन।

सरकारको अपेक्षा अनुसार, यो नयाँ प्रावधानले सवारी चालकहरूका लागि समय, खर्च र प्रशासनिक प्रक्रिया सरल बनाउनेछ। साथै, लाइसेन्स व्यवस्थापन प्रणालीमा सुधार आउने विश्वास गरिएको छ।

यसबाहेक, सरकारले ल्याएको विधेयकमा सवारी जाँचपास र प्रदूषण परीक्षणका कामहरूमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिएको छ। यसले सार्वजनिक सेवा प्रवाहमा निजी साझेदारीको ढोका खुला गर्ने संकेत गरेको छ, जसबाट सेवा प्रभावकारिता र गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु