गृहपृष्ठ भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर

भारत हुँदै मानव तस्करी प्रयास : ११ पीडितको जाहेरीपछि गिरोहविरुद्ध मुद्दा दायर


काठमाडौं, ११ साउन। भारतको बाटो हुँदै अवैध रूपमा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने मानव तस्कर गिरोहविरुद्ध मुद्दा दायर गरिएको छ।

साउदी एयरमार्फत साउन ६ गते (जुलाई २२) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका ४७ नेपालीमध्ये अध्यागमनमा रोकिएका थिए। उनीहरूले प्रयोग गरेको कागजात नक्कली रहेको पुष्टि भएपछि भारतस्थित नेपाली दूतावासमार्फत माइती नेपालको सहयोगमा स्वदेश फर्काइएको थियो।

फर्काइएका ४७ जनामध्ये ११ जनाले मात्र नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका छन्। उनीहरूले कागजात बनाउने गिरोहका नाम, हुलिया र सम्भावित सम्पर्कस्थलसमेत खुलाएका छन्। उनीहरूको विवरणका आधारमा आइतबार औपचारिक रूपमा जाहेरी दर्ता भएको हो।

मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार अनुसन्धान जारी रहेको छ। “नक्कली कागजात बनाउने व्यक्तिको पहिचानको प्रक्रिया अघि बढिरहेको छ,” उनले बताए, “तर आरोपितहरूको थप विवरण अहिले खुलाउन मिल्दैन।”

ब्युरो स्रोतका अनुसार पीडितले आफ्ना विवरण गोप्य राख्न आग्रह गरेका छन्।

प्रहरी अनुसन्धान अनुसार, गिरोहले नेपाली नागरिकलाई अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउन भारतका विभिन्न स्थानमा नक्कली एनओसी (यात्रा स्वीकृति) र प्रहरी रिपोर्ट तयार पार्ने गरेको छ।

नेपाल सरकारको प्रावधान अनुसार, नेपाली राहदानीवाहक यात्रुले भारतको विमानस्थल हुँदै विदेश जानुअघि नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट आधिकारिक एनओसी लिनु अनिवार्य छ। तर, यस प्रकरणमा गिरोहले नक्कली एनओसीमार्फत उनीहरूलाई सिधा विदेश पठाउने प्रयास गरेको देखिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु