गृहपृष्ठ धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार
धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार
कल्पना घिमिरे
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लामा विद्युत मर्मतका क्रममा पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला अजमिर द्ववानेटाका अन्दाजी ४० वर्षीय झविन्द्र घिमिरे ( वसन्त ) को करेन्ट लागेर निधन भएको हो। विद्युत मर्मतको क्रममा पोलमा चढाइएका घिमिरे गम्भीर घाइते भई गुल्मी अस्पतालमा लगिएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गा बहादुर सारुले जानकारी दिए। 
घटनापछि स्थानीय बासिन्दा र मृतकका आफन्तहरू आक्रोशित छन्। उनीहरूले विद्युत लाइन सञ्चालन भइरहेका बेला मर्मत गराइएको भन्दै लापरवाही भएको आरोप लगाएका छन्। यसै कारण मृतकका आफन्तहरूले शव बुझ्न अस्वीकार गर्दै लापरवाहीवश कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका छन्।
धुर्कोट वडा नं ४ जैशीथोक सबस्टेशनमा कार्यरत कर्मचारी विष्णु पोखरेलमाथि गैरजिम्मेवार ढंगले काम गराएको आरोप छ। स्थानीय तिर्थ घिमिरेका अनुसार पोखरेलको निर्देशनमा करेन्ट प्रवाह भइरहेकै पोलमा चढ्न लगाइएको थियो, जसका कारण घटना भएको हो। उनले धुर्कोट क्षेत्रमा विद्युत पोल र लाइन व्यवस्थापन अस्तव्यस्त रहेको र समयमा सुधार नगरे घटनाहरू दोहोरिरहने चेतावनी पनि दिए।
धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेलले प्रतिक्रिया दिँदै भने, “दश–पन्ध्र दिनअघिदेखि किसानटारी र द्ववानेटाको लाइन फेरबदल गरिएको थियो। करेन्ट नचलिरहेको ठानिए पनि आपसी समन्वयको कमीका कारण अनजानेमा घटना भएको हुन सक्छ।” उनले नियतवश गल्ती नभएको जिकिर गरे।
यसैबीच, निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले भने घटनाबारे विद्युत वितरण केन्द्र प्रमुखसँग समन्वय गर्दा ‘लापरवाहीबाट भएको मृत्यु पुष्टि नभएको’ जानकारी प्राप्त भएको बताए।
युवकको निधनले विद्युत मर्मतका कार्यमा अपनाइने सुरक्षासम्बन्धी मापदण्डमा गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासी र पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन्।








