गृहपृष्ठ बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड
बुटवल उपमहानगरको ३ अर्ब ३६ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड
बुटवल,
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। सोमबार नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट सार्वजनिक गरेकी हुन्।
उनका अनुसार कुल बजेटमध्ये ४९ प्रतिशत चालू खर्चका लागि र ५१ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ।
आन्तरिक स्रोतबाट ९५ करोड आम्दानीको अनुमान
बजेटमा आन्तरिक स्रोतबाट ९५ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ।
शिक्षा क्षेत्रका लागि व्यापक कार्यक्रम
विद्यालय सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, ‘बुटवलका किसान हाम्रो सान’ कार्यक्रम अन्तर्गत १ करोड, छात्राहरूका लागि निःशुल्क अध्ययन कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, विपन्न वर्गका बालबालिकालाई पोसाक र शैक्षिक सहयोगमा ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल तथा कम्प्युटर शिक्षा सुधारमा १ करोड र स्थानीय पाठ्यक्रम सुधारमा ७० लाख रुपैयाँ विनियोजन गरिएको छ।
स्वास्थ्यमा ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रम
जेष्ठ नागरिक र असहायलाई घरमै स्वास्थ्य सेवा पुर्याउने ‘बाआमासँग नगरप्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख बजेट राखिएको छ। महिलाका लागि पाठेघर, स्तन क्यान्सर, भिडियो एक्स–रे तथा अन्य स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ३० लाख, बुटवल–१३ र १७ मा निर्माण भएका अस्पतालको व्यवस्थापनमा ६० लाख रुपैयाँ छुट्याइएको छ।
पर्यटन र सांस्कृतिक विकासमा लगानी
बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्न ५० लाख र सांस्कृतिक सहर बनाउने योजनामा १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ। जितगढी किल्ला नजिक आरती केन्द्र निर्माणका लागि ५ करोड, गौशाला व्यवस्थापनमा १ करोड, हरियाली विस्तार तथा सडक सौन्दर्यीकरणमा ३ करोड बजेट विनियोजन गरिएको छ।
कृषि तथा बजार प्रवर्द्धनमा अनुदान
कृषक समूहलाई उपकरण खरिदमा अनुदानका लागि १ करोड, दुग्ध उत्पादनमा प्रोत्साहन स्वरूप ५० लाख, रात्रिकालीन बजार सञ्चालन (कालिकापथ, अमरपथ, ट्राफिकचोक) मा ५० लाख छुट्याइएको छ।
भूमि व्यवस्थापनमा ध्यान
अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँच व्यवस्थापनका लागि १ करोड ५० लाख र पुनःनापी कार्यका लागि २ करोड रुपैयाँ छुट्याइएको छ।
निजी क्षेत्रसँग सहकार्यमा समृद्धिको परिकल्पना
‘बुटवलको सपना, निजी क्षेत्रसँग सहकार्य’ भन्ने नारासहित निजी क्षेत्रसँग सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।








