गृहपृष्ठ बुटवल–गोरुसिँगे–चन्द्रौटा सडक बिस्तारका लागि नागरिक निगरानी समुहले १०८ वटा वर पिपल र शमीका बिरुवा रोप्ने निर्णय

बुटवल–गोरुसिँगे–चन्द्रौटा सडक बिस्तारका लागि नागरिक निगरानी समुहले १०८ वटा वर पिपल र शमीका बिरुवा रोप्ने निर्णय


कल्पना घिमिरे

बुटवल जेठ २७ –चन्द्रौटा सडक बिस्तार आयोजना अन्तर्गत नागरिकस्तरबाट गठन गरिएको नागरिक निगरानी समुहले विभिन्न स्थानहरूमा १०८ वटा वर पिपल र शमीका बिरुवा रोप्ने निर्णय गरेको छ। स्थानीय पालिका समितिहरूको समन्वयमा बृक्षारोपण गरिने छ।

यस सडक बिस्तारका क्रममा बुटवलदेखि इमिलिया सम्म काटिएका करिब २५० वटा वर पिपल र शमीका रुखहरूको क्षतिपूर्ति स्वरूप बृक्षारोपण गरिने भएको समुहका सदस्य दोलकराम घिमिरेले जानकारी दिनुभयो।

कपिलवस्तु जिल्लाको जितपुरमा रहेको उद्योग वाणिज्य संघको कार्यालयमा समुहका अध्यक्ष छबिलाल पाठकको अध्यक्षतामा बसेको बैठकले आगामी असार अन्त्य वा साउनको पहिलो हप्तामा बिरुवा रोप्ने कार्य शुरु गर्ने निर्णय गरेको छ। उक्त बिरुवा रोप्ने स्थान पहिचान गर्ने कार्यसम्पादन भइरहेको समुहका सचिव टेकराज पौडेलले बताए।

हालसम्म प्राप्त प्रस्तावअनुसार कपिलधाम, मधुवन धाम, र नन्द नगरस्थित गुरुकुल जाने बाटोमा बिरुवा रोप्न सकिने समुहका सदस्य प्रताप गिरीले जानकारी दिनुभयो।

बुटवलदेखि इमिलिया चोकसम्म काटिएका बर पिपलका कारण स्थानीय वातावरण उराठ र प्रदूषित भएको भन्दै पर्यावरणीय सन्तुलन कायम गर्न यो पहल आवश्यक भएको जनाइएको छ।

यसैगरी, प्रकृति मानव केन्द्रित जन अभियान र पौडेल वंश महासंघले पनि करिब १५० बिरुवा आगामी आषाढ १ गते बुद्धभूमि, बुड्ढी र बाणगङ्गा नदीस्थित कोइली नदी किनारमा रोप्ने तयारी गरिरहेको छ।

पौडेल वंश महासंघ बाणगङ्गा नगर समितिको आज बोडगाउँमा सम्पन्न बैठकले आषाढ १ गते वंश स्थापनाको ७औं दिवस भव्य रूपमा मनाउने र बाणगङ्गा नगर अधिवेशन पनि सोही दिन दिउँसो १ बजे उद्योग वाणिज्य संघको सभाहलमा केन्द्रीय अध्यक्ष हरीराम पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गर्ने तयारी गरिरहेको जिल्ला अध्यक्ष गिरिराज पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु