गृहपृष्ठ राजस्व छलीको आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि १ करोड ६ लाखको मुद्दा

राजस्व छलीको आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि १ करोड ६ लाखको मुद्दा


 २०८२ जेठ १४ गते

 रूपन्देही

अनुसन्धान विभागले राजस्व छलीको आरोपमा सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित ‘सुन्दर प्लाइउड सेन्टर’का सञ्चालक आकाश अग्रहरीविरुद्ध १ करोड ६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।

विभागका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार अग्रहरीविरुद्ध ५३ लाख २७ हजार ६४६ रुपैयाँ बिगो कायम गरी सोही बराबरको शतप्रतिशत जरिवानासहित मुद्दा दायर गरिएको हो। अभियोगमा अधिकतम सजायसमेत माग गरिएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सुन्दर प्लाइउड सेन्टरको पसल र गोदाममा खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा फर्मको मौज्दात किताबमा उल्लेखित परिमाणभन्दा बढी सामग्री भेटिएको थियो। साथै, केही वस्तुहरु मौज्दात विवरणभन्दा कम मात्रामा फेला परेपछि कारोबारमा अनियमितता रहेको पुष्टि भएको जनाइएको छ।

जारी विवरणअनुसार, फर्मले मालवस्तु खरिद गरेपछि मौज्दात किताबमा दर्ता नगरेको, बिक्री गर्दा बिल नै नबनाई सामग्री बेचेको, बिक्री विवरण खातामा प्रविष्ट नगरेको, गोदाममा मौज्दात विवरणभन्दा बढी वस्तु फेला परेको, बढी भेटिएका वस्तुको खरिद वा भन्सार पैठारीसम्बन्धी कुनै प्रमाण नभेटिएको, र न्यून बिक्री देखाएर राजस्व छलेको पुष्टि भएको छ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृतका रूपमा हालै आएका विवेक घिमिरेले कर छल गर्ने व्यवसायीमाथि निरन्तर कडा कारबाही थालेका छन्। पछिल्लो समय बुटवल क्षेत्रका प्रतिष्ठित व्यवसायीहरूमाथि अनुसन्धान तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु