गृहपृष्ठ गणतन्त्र उत्सव जनताको गौरवको प्रतीक हो : एमाले महासचिव पोखरेल
गणतन्त्र उत्सव जनताको गौरवको प्रतीक हो : एमाले महासचिव पोखरेल
काठमाडौं — नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गणतन्त्र उत्सवलाई जनताको खुशी, गौरव र उपलब्धिको दिनका रूपमा मनाउन थालिएको बताएका छन्।
एमाले निकट प्रेस संगठन प्रेस चौतारी नेपालले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले गणतन्त्रलाई औपचारिकता मात्रै नभई जनउत्सवको स्वरूप दिने प्रयास सुरु भएको बताए। “गणतन्त्र उत्सव जनतालाई खुसी बाँड्ने र गौरवका साथ मनाउने दिन हो भन्ने सन्देश दिन हामी जेठ १५ को कार्यक्रममार्फत थालनी गर्दैछौँ,” पोखरेलले स्पष्ट पारे।
उनले पूर्व राजा ज्ञानेन्द्रद्वारा संविधानसभाको निर्णय स्वीकार गरिसकेपछि पनि गणतन्त्रको विरोधमा भइरहेको गतिविधिको सन्दर्भमा टिप्पणी गर्दै भने, “संविधानको विपक्षमा भइरहेका गतिविधिको पृष्ठभूमिमा जनतालाई गणतन्त्रप्रति पुनः जागरूक बनाउने उद्देश्यले हाम्रो पार्टीले जेठ १५ लाई उत्सवको रूपमा मनाउने निर्णय गरेको हो।”
एमालेले जेठ १५ लाई सांस्कृतिक झाँकीसहित भव्य रूपमा मनाउने तयारी गरिरहेको जानकारी दिँदै पोखरेलले भने, “नेपालको सांस्कृतिक, भाषिक र जातीय विविधतालाई समेट्दै हामीले जनउत्सवको रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका छौँ। भोलिको कार्यक्रममा विभिन्न जातजातिका सांस्कृतिक भेषभूषा, बाजागाजा, र झाँकी प्रस्तुत गरिनेछ, जसले उत्सवमा विशेष छाप छोड्नेछ।”
राजनीतिक संक्रमण टुंगिएको सन्दर्भमा अबको ध्यान विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने धारणा राख्दै उनले भने, “यदि दलहरूबीच सहमति भयो भने बजेट प्रस्तुतिको मितिलाई फरक गरेर गणतन्त्र दिवसलाई विशेष समारोहका रूपमा मनाउन संविधान संशोधन समेत गर्न सकिन्छ।”
“जेठ १५ हाम्रो सार्वभौमसत्ताको स्थापनाको दिन हो, जनअधिकारको विजयको दिन हो। त्यो दिनको महत्व घटाउने प्रयास स्वीकार्य छैन। त्यसविरुद्ध जनताको खुसीमार्फत सन्देश दिनुपर्छ,” पोखरेलले भने।
महासचिव पोखरेलले एमाले मात्र नभई सबै राजनीतिक दललाई जेठ १५ को गणतन्त्र उत्सवमा सहभागी भई यसलाई राष्ट्रिय उत्सवको रूपमा स्थापित गर्न आह्वान गरे।










