गृहपृष्ठ सरकारद्वारा राप्रपाका तीन सांसदको पीएसओ एकै पटक फिर्ता
सरकारद्वारा राप्रपाका तीन सांसदको पीएसओ एकै पटक फिर्ता
१४ जेठ, काठमाडौं — सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदलाई उपलब्ध गराइएको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) एकै पटक फिर्ता बोलाएको छ।
पीएसओ फिर्ता गरिएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्।
शाहीका स्वकीय सचिवका अनुसार, उक्त निर्णयबारे सांसदहरूबीच छलफल भइरहेको छ। उनले भने, “प्रमुख सचेतक ज्यु, सांसद प्रधान र सिंहको पीएसओ फिर्ता गरिएको छ। यस विषयमा उहाँहरू अहिले बैठकमा बसिरहनुभएको छ।”
सरकारले शाहीलाई प्रमुख सचेतकका हैसियतले, सिंहलाई पूर्वाधार विकास समितिको जिम्मेवारीका आधारमा र प्रधानलाई पूर्व प्रहरी महानिरीक्षक (आइजीपी)को पृष्ठभूमिका कारण पीएसओ उपलब्ध गराउँदै आएको थियो।
सरकारको यस निर्णयप्रति राप्रपाको औपचारिक प्रतिक्रिया आउन बाँकी छ।










