गृहपृष्ठ विद्यालय शिक्षा विधेयक: उपसमितिको प्रतिवेदनमाथि संसदको समिति बैठक आज,
विद्यालय शिक्षा विधेयक: उपसमितिको प्रतिवेदनमाथि संसदको समिति बैठक आज,
७ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयक–२०८० सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा आज छलफल हुने भएको छ। दिउँसो २ बजे संसद भवनमा बस्ने बैठकमा प्रतिवेदनमाथि विस्तृत बहस गरिने कार्यक्रम रहेको छ।
उपसमितिले विधेयकको दफावार छलफल गरी केही दिनअघि प्रतिवेदन मुख्य समितिमा बुझाएको थियो। धेरै विषयमा सहमति जुटाइएको भए पनि प्रारम्भिक बाल विकास कार्यक्रमको संरचना र निजी विद्यालयसम्बन्धी व्यवस्था भने अझै विवादास्पद बनेका छन्।
यही कारणले ती विषयमा अन्तिम निर्णय समितिमा सुम्पने सहमति उपसमितिले गरेको छ। आजको बैठकमा ती संवेदनशील बुँदाहरूमा समेत विचार गरिनेछ।
यसैबीच, नेपाल शिक्षक महासंघले उपसमितिको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। महासंघका अनुसार, प्रारम्भिक छलफलमा भएका सहमति प्रतिवेदनमा समावेश नभएको गुनासो उनीहरूको छ।
सरकार र आन्दोलनरत शिक्षकबीच आगामी असार १५ भित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति भएपछि विधेयक निर्माण प्रक्रिया तीव्र पारिएको हो। सोही सहमति अनुरूप उपसमितिले प्रतिवेदन तयार पारी समितिमा बुझाएको थियो, जसमा आजबाट औपचारिक छलफल प्रारम्भ हुँदैछ।









