गृहपृष्ठ नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल
नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन्। शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा हजको लागि मक्का-मदिनातर्फ प्रस्थान गर्न लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै उनले बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको विशिष्ट पहिचान र योगदानको चर्चा गरे।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। यसमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराले महत्वपूर्ण स्थान ओगटेको छ,” राष्ट्रपति पौडेलले भने।
राष्ट्रपतिले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देशसमेत दिए। “हाम्रो विविधतायुक्त समाजमा सहिष्णुता, मित्रता र आपसी सद्भाव कायम राख्दै एकता सुदृढ गर्न हजयात्रा पनि एउटा महत्वपूर्ण माध्यम बन्न सक्छ,” उनले उल्लेख गरे।
पौडेलले परापूर्वकालदेखि नै नेपालको सामाजिक संरचना र राष्ट्र निर्माणमा मुस्लिम समुदायको सक्रिय भूमिकाको स्मरण गरे। हजयात्रीको सहजताका लागि आवश्यक सबै सुविधा उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेमा उनले जोड दिए। “हज व्यवस्थित ढंगले सम्पन्न होस् भनेर नीति, नियम र व्यवस्थापन सुधार गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु,” उनले भने।
शुभकामना कार्यक्रममा राष्ट्रपति पौडेलले हजयात्रीलाई परम्परागत गम्छा र टोपी अर्पण गर्दै बिदाइ गरे। कार्यक्रममा मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्दिन मियाँले राष्ट्रपति कार्यालयबाट पहिलोपटक यस्तो सम्मान र शुभकामना प्राप्त गर्नु गौरवको विषय भएको बताए।










