गृहपृष्ठ तीनकुने घटनामा नियोजित हिंसा कि स्वतःस्फूर्त आन्दोलन? कांग्रेसले पूर्वराजालाई ठहर्यायो मुख्य दोषी
तीनकुने घटनामा नियोजित हिंसा कि स्वतःस्फूर्त आन्दोलन? कांग्रेसले पूर्वराजालाई ठहर्यायो मुख्य दोषी
काठमाडौं, १६ चैत – सत्तारूढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस विषयमा गहन समीक्षा गर्दै पूर्वराजाको संलग्नता रहेको निष्कर्ष निकालेको हो।
पूर्वराजाको उक्साहटमा हिंसा भड्किएको कांग्रेसको दाबी
बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूलाई सम्बोधन गर्दै, पूर्वराजा शाहकै निर्देशनमा राजावादी प्रदर्शन हिंसात्मक बनेको आरोप लगाए। उनका अनुसार, गृहमन्त्रीले बैठकमा घटनाको सम्पूर्ण विवरण प्रस्तुत गरेका थिए, जसका आधारमा कांग्रेस नेतृत्वले पूर्वराजामाथि गम्भीर प्रश्न उठाएको हो।
‘निरंकुश शासनतर्फ फर्किन खोज्ने प्रयास’
प्रवक्ता महतले भने, “राजावादीको नाममा जुन गतिविधि भयो, त्यसको गम्भीर समीक्षा गरेका छौं। हाम्रो पार्टीले यसअघि नै घटनाको भर्त्सना गरिसकेको छ। यो कुनै स्वतःस्फूर्त प्रदर्शन थिएन, बरु लोकतन्त्रलाई कमजोर पार्ने नियोजित प्रयास थियो।”
उनले थपे, “पूर्वराजाको निर्देशनमा गठन भएको समिति नै यो प्रदर्शनको मुख्य आयोजक हो। तर, यसले शान्तिपूर्ण दबाबमूलक कार्यक्रमको सट्टा अराजक गतिविधि अपनायो। सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्ने, प्रेस स्वतन्त्रतामाथि धावा बोल्ने, र अशान्ति मच्चाउने लक्ष्य देखियो।”
कांग्रेसले यो घटनालाई लोकतान्त्रिक प्रणालीलाई अस्थिर बनाउन गरिएको कदमका रूपमा लिएको छ। पार्टी पदाधिकारीहरूले घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने र संलग्न दोषीहरूमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्।








