गृहपृष्ठ जनताको आवाज दबाउने सरकारलाई अब जनताले नै जवाफ दिनेछन् – लामिछाने

जनताको आवाज दबाउने सरकारलाई अब जनताले नै जवाफ दिनेछन् – लामिछाने


१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार आफूविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

रास्वपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका लामिछानेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै वर्तमान सरकार जनताको पक्षमा नभई सत्ता जोगाउन लागेको बताए । ‘सरकारले मलाई झुठा मुद्दामा फसाउने प्रयास गरिरहेको छ, तर म कुनै पनि दबाबमा झुक्दिन,’ लामिछानेले भने ।

सरकारको षड्यन्त्र अझै रोकिएको छैन
रवि लामिछानेले पाँच महिनाअघि जबरजस्ती झुठा मुद्दा लगाएर आफूलाई पक्राउ गरिएको स्मरण गर्दै भने, ‘सरकारको षड्यन्त्रको सिलसिला अझै पनि रोकिएको छैन । तर, म जुनसुकै परिस्थितिसँग जुध्न तयार छु ।’

उनले वर्तमान सरकार भ्रष्टाचारमा डुबेका व्यक्तिहरूलाई जोगाउन बनेको आरोप लगाए । ‘कांग्रेस र एमालेले मिलेर बलियो सरकार बनाउने सम्भावना समाप्त गरे । उनीहरू जनताको भलो गर्न होइन, आफूलाई जोगाउन सत्तामा बसेका छन्,’ उनले भने ।

सरकार नागरिक अधिकार कुण्ठित गर्न खोज्दैछ
लामिछानेले वर्तमान सरकारलाई निरंकुश शैलीमा अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारले जनताको आवाज दबाउन खोज्दैछ । सरकारको लक्ष्य म मात्रै होइन, आम नागरिक हुन्,’ उनले भने ।

उनले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकारले मेरो टाउकोमा तरबार झुन्ड्याएर धम्क्याउने प्रयास गरिरहेको छ । तर, म न झुक्छु, न डराउँछु । म सधैं जनताको पक्षमा उभिनेछु ।’

रास्वपाको मार्गचित्र: भ्रष्टाचारविरुद्ध संघर्ष
रास्वपा सभापति लामिछानेले आफ्नो पार्टी सधैं जनताको पक्षमा खडा हुने भन्दै भ्रष्टाचारविरुद्ध कडा संघर्ष गर्ने प्रतिज्ञा गरे । ‘हामीले घण्टी बजायौँ, संसद्मा २१ सांसद पुर्यायौँ । तर, यिनले सच्चिने कुनै संकेत देखाएनन् । अब परिवर्तनको समय आएको छ,’ उनले जोड दिए ।

उनले देशमा जनताको आक्रोश बढिरहेको भन्दै अबको लडाइँ सत्तासीन भ्रष्टहरू विरुद्ध हुने बताए । ‘हामी परिवर्तन ल्याउन लड्दै जानेछौं । रास्वपा कुनै पनि हालतमा भ्रष्टहरूलाई देश लुट्न दिने छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु