गृहपृष्ठ कान्तिपुर र अन्नपूर्ण पोस्टमाथि ढुंगामुढा, प्रदर्शनको स्वरूपप्रति प्रश्न उठ्दै

कान्तिपुर र अन्नपूर्ण पोस्टमाथि ढुंगामुढा, प्रदर्शनको स्वरूपप्रति प्रश्न उठ्दै


काठमाडौं, १५ चैत । व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै गरिएको प्रदर्शनका क्रममा कान्तिपुर टिभी र अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरिएको छ।

प्रदर्शनकारीहरूले शुक्रबार दिउँसो कान्तिपुर टिभीको कार्यालयतर्फ ढुंगामुढा गरेका थिए, जसका कारण कार्यालयको सिसा फुटेको छ। यसक्रममा भवनको केही अन्य भागमा समेत क्षति पुगेको बताइएको छ।

यस्तै, अन्नपूर्ण पोस्टको तीनकुनेस्थित कार्यालयमा पनि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेको अन्नपूर्ण पोस्टले जनाएको छ। प्रदर्शनका क्रममा मिडिया हाउसहरूलाई लक्षित गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।

राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै देशभर विभिन्न ठाउँमा प्रदर्शन भइरहेकै समयमा काठमाडौंमा प्रदर्शन उग्र बनेको हो। प्रदर्शनकारीहरूको आक्रमक गतिविधिले सुरक्षा व्यवस्थामा समेत चुनौती उत्पन्न गरेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले प्रदर्शन नियन्त्रण गर्न प्रयास गरे पनि प्रदर्शनकारीहरूको आक्रोश नियन्त्रणबाहिर गएको देखिन्छ। यसअघि पनि विभिन्न राजावादी प्रदर्शनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि क्षति पुर्याइएको थियो।

मिडिया कार्यालयहरूमाथि भएको यो आक्रमणलाई लिएर पत्रकार महासंघ तथा विभिन्न अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान हुनुपर्ने र सञ्चारमाध्यमलाई निशाना बनाउनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताएका छन्।

स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीहरू परिचालित भए पनि प्रदर्शनकारीहरूको आक्रामक व्यवहारका कारण सुरक्षा व्यवस्थापन जटिल बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु