गृहपृष्ठ नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनामाथि भ्रष्टाचारको अभियोग, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनामाथि भ्रष्टाचारको अभियोग, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार विशेष अदालतमा दायर मुद्दामा सार्वजनिक पदधारीहरू तथा उपभोक्ता समितिसम्बन्धी पदाधिकारीहरूलाई गैरकानुनी ढंगले प्रशासनिक भवन निर्माणमा संलग्न भएको आरोप लगाइएको छ।
अख्तियारका अनुसार पूर्वअध्यक्ष यादवसँगै तत्कालीन उपाध्यक्ष शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, र लेखापाल सोमप्रसाद आचार्य मुद्दाका प्रमुख प्रतिवादी हुन्।
त्यस्तै, वडा नम्बर ४ र ५ का तत्कालीन वडाध्यक्ष मदन यादव र मनोजकुमार यादव, योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादव, उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दिपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवसमेत मुद्दामा मुछिएका छन्।
मुद्दामा आरोप लगाइएअनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रियामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार पार्नेदेखि भुक्तानी गर्नेसम्मका चरणहरूमा गम्भीर अनियमितता र नियम उल्लंघन भएको छ। अख्तियारको दाबी अनुसार कामको गुणस्तर पनि न्यून स्तरको रहेको छ।
२०७७ जेठ ३२ गते उपभोक्ता समितिमार्फत ३७ लाख ७५ हजार ४३६ रुपैयाँको लागतमा भवन निर्माण गर्ने सम्झौता भएको थियो। तर गलत प्राविधिक मूल्यांकनका आधारमा ३४ लाख ३९ हजार १८९ रुपैयाँ भुक्तानी गरिएको र निर्माण सम्पन्न भए पनि भवन अहिलेसम्म प्रयोगमा आउन नसकेको अख्तियारले जनाएको छ।









