गृहपृष्ठ साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात
साउन–भदौमा ३ खर्ब ५ अर्बको आयात, ४७ अर्बको निर्यात
आश्विन ८, २०८२
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ) मा नेपालले ३ खर्ब ५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा १६.२३ प्रतिशतले बढी हो। यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात पनि भएको छ, जुन गत वर्षको तुलनामा ८८.५७ प्रतिशतले वृद्धि भएको हो।
निर्यातमा मुख्य योगदान सोयाबिन तेलले दिएको छ । दुई महिनामै करिब २० अर्ब ४२ करोडको सोयाबिन तेल निर्यात भएको छ भने कार्पेट, सनफ्लावर तेल, पाम तेल, अलैंचीलगायत वस्तु पनि प्रमुख निर्यात सूचीमा छन्।
आयाततर्फ सबैभन्दा बढी सोयाबिन कच्चा पदार्थ (२१ अर्ब ६५ करोड), डिजेल, पेट्रोल, एलपी ग्यास, आइरन, सुन, हवाई इन्धन तथा स्वदेशमै उत्पादन हुने मकै, धान र स्याउजस्ता वस्तु भित्रिएका छन्।
सबैभन्दा बढी आयात–निर्यात वीरगन्ज भन्सारमार्फत भएको छ। यस अवधिमा आयात १ खर्ब ४६ अर्ब र निर्यात १६ अर्ब ७८ करोड बराबर भएको विभागले जनाएको छ।
आयात र निर्यात दुबै बढे पनि व्यापार घाटा अझै फराकिलो बन्दै गएको छ। चालु वर्षको पहिलो दुई महिनामा व्यापार घाटा ८.५९ प्रतिशत बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।










