गृहपृष्ठ पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउँछौँ : महानिरीक्षक कार्की
पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउँछौँ : महानिरीक्षक कार्की
भदाै ८ , २०८३
बुटवल टाइम्स
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाको अभिलेख प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरीमा सुरक्षित रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी दायरामा ल्याइने बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले दशकौँ पुराना घटनामा संलग्न व्यक्तिलाई समेत पक्राउ गरी कानुनी कारबाही गर्दै आएको उल्लेख गर्दै प्रहरी सङ्गठनले यस्ता घटनालाई नबिर्सने बताए।
“व्यक्तिको स्मरण छोटो समयमा समाप्त हुन सक्छ । तर प्रहरी व्यक्तिको न्यायका लागि अनवरत रूपमा लडिरहने संस्था हो । यो संस्थाले त्यस्ता घटनाहरू बिर्संदैन”, उनले भने।
यद्यपि, पुराना आपराधिक घटनाको अनुसन्धानमा अपेक्षाअनुसार सफलता प्राप्त हुन नसकेको उनले स्वीकार गरे। पुराना घटनाको अध्ययन तथा निरन्तर अनुसन्धानमार्फत संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको उनको भनाइ थियो।
“ती पुराना घटनाको अध्ययन र निरन्तर अनुसन्धानबाट घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउने कार्य प्रहरी सङ्गठनले गर्दै आएको छ”, उनले भने।
पुराना तथा चर्चित आपराधिक घटनाको अनुसन्धानका लागि विशेष टोली गठन गरी काम भइरहेको जानकारी दिँदै उनले केही घटनामा त्यसबाट उल्लेख्य सफलता प्राप्त भएको बताए।
प्रहरी महानिरीक्षक कार्कीका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मार्फत पुराना तथा जघन्य प्रकृतिका अपराधको अनुसन्धान भइरहेको छ। “नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै लगिरहेका छौँ”, उनले भने।
विश्वव्यापी रूपमा समाज, प्रविधि र कार्यशैलीमा आएको परिवर्तनसँगै सुरक्षा चुनौतीसमेत बढ्दै गएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले परम्परागत अनुसन्धान पद्धतिले मात्रै आधुनिक सुरक्षा चुनौतीको सामना गर्न नसकिने बताए।
प्रहरी सङ्गठनलाई थप प्रभावकारी बनाउन कार्यसम्पादनमा आधारित प्रणाली विकास गरिएको जानकारी दिँदै उनले भने, “प्रहरी कर्मचारीलाई स्वचालित र उत्प्रेरित गर्न पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरेका छौँ । यो पूर्वानुमानयोग्य छ । कामका आधारमा मूल्याङ्कन हुन्छ, जसले व्यक्तिलाई सुधार गर्ने मौका पाउँछ।”
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले नागरिकले प्रहरी कार्यालयसम्म धाउनुपर्ने अवस्थालाई कम गर्दै लगिएको बताए।
“उहाँहरू घरबाटै आफ्ना आवेदन तथा निवेदन दिन र त्यसबारे बुझ्न सहज हुने गरी प्रणालीको विकास गरिएको छ”, उनले भने, “नेपाल पुलिस एपमार्फत धेरै सेवा लिन सकिनेछ।”
पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको जनाउँदै उनले यस्ता अपराधको अनुसन्धानका लागि सोहीअनुसार जनशक्ति भर्ना तथा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यसका लागि विशिष्टीकृत अनुसन्धान इकाइ गठन गरिएको पनि उनले जानकारी दिए।
महानिरीक्षक कार्कीले अपराधको विश्वव्यापी सञ्जाललाई निस्तेज पार्न विभिन्न देशका प्रहरी सङ्गठन तथा इन्टरपोलमार्फत अन्य मुलुकका विशिष्टीकृत र विकसित अनुसन्धान इकाइसँग आवश्यक समन्वय भइरहेको बताए।
“नेपाल प्रहरीले आधुनिक ‘पुलिसिङ’का मापदण्ड अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी सङ्गठनका सदस्यसँग समन्वय गरिरहेको छ”, उनले भने।
प्रविधिको बढ्दो प्रयोगसँगै हुने आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा प्रहरी सङ्गठन सक्षम बन्दै जाने विश्वास व्यक्त गर्दै उनले आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको बताए।
नेपाल प्रहरी आमनागरिकको सबैभन्दा नजिक रहेर राज्यको प्रतिनिधित्व गर्ने सङ्गठन भएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दै नागरिकको जीउधनको सुरक्षा गर्न सबै तह र तप्काको सहयोग आवश्यक रहेको बताए।
“प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोगको अपेक्षा सदैव छ”, उनले भने, “आपराधिक प्रवृत्ति भएका व्यक्तिका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु।”















