गृहपृष्ठ निष्पक्ष निर्वाचन गर्ने तयारीमा गृह मन्त्रालय, सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
निष्पक्ष निर्वाचन गर्ने तयारीमा गृह मन्त्रालय, सुव्यवस्थित निर्वाचनसम्बन्धी अवधारणा जारी
१६ माघ २०८२
निष्पक्ष निर्वाचनको तयारीमा गृह मन्त्रालय, वडा तहसम्म समन्वयको अवधारणा जारी
काठमाडौं । गृह मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न वडा तहसम्म समन्वय र सहकार्य बढाउने उद्देश्यसहित नयाँ अवधारणा सार्वजनिक गरेको छ।
मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ जारी गर्दै यसको कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ।
निर्वाचनका सम्पूर्ण प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, निजी क्षेत्र तथा प्रबुद्ध व्यक्तिको भूमिका महत्वपूर्ण हुने तथ्यलाई ध्यानमा राख्दै अवधारणा ल्याइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वडा तहमा क्रियाशील राजनीतिक व्यक्तित्व, दलका पदाधिकारी तथा प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनमा सहभागी गराई अपनत्व बढाउने लक्ष्यका साथ अवधारणा सार्वजनिक गरिएको जानकारी दिए।
अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।









